विवाहको पहिलो रात अर्थात् सुहागरातलाई प्रेम र विश्वासको सुरुवातको रूपमा हेरिन्छ। तर, जब श्रीमानले श्रीमतीलाई “आर यु भर्जिन?” भनेर प्रश्न गर्छ, तब यो प्रश्न नारीको मनोवैज्ञानिक दबाबको कारण बन्दछ। नारीमाथि यस्तो प्रश्न गर्नु उसको अस्मिता, आत्मसम्मान, र स्वतन्त्रतामाथि प्रश्न उठाउनु हो। समाजले नारीको कुमारीत्वलाई गौरवको विषय बनाएको छ, जबकि पुरुषको यौन इतिहासलाई सामान्य मानिन्छ।
पितृसत्तात्मक समाजले सधैं नारीको शरीरमाथि नियन्त्रण राख्ने प्रयास गरेको छ। विवाहअगाडिको यौन सम्बन्धलाई नारीको प्रतिष्ठासँग जोडेर हेरिन्छ, तर पुरुषका लागि यौन अनुभवलाई सामान्यीकृत गरिन्छ। यो भेदभाव नै नारी असमानताको प्रमुख कारण बनेको छ। महाभारतमा द्रौपदीको चीरहरणको घटनाले देखाउँछ कि नारीको कुमारीत्वलाई समाजले बजारमा बिक्री गरिने वस्तुको रूपमा हेर्छ। द्रौपदी पाँच पाण्डवकी साझा पत्नी हुनुपरेको घटनाले नारीमाथि भएका अन्यायलाई उजागर गर्छ।
यस्तै, रामायणमा सीताको अग्निपरीक्षाले नारीको पवित्रता प्रमाणित गर्नुपर्ने संस्कृतिलाई दर्शाउँछ। सीतालाई प्रमाणित गर्नुपर्ने बाध्यता पितृसत्तात्मक सोचको ज्वलन्त उदाहरण हो। समाजले पुरुषको यौन इतिहासलाई नजरअन्दाज गर्छ, तर नारीलाई नैतिकताको तराजुमा तौल्न खोज्छ। विवाहअगाडि पुरुषले कति जनासँग यौन सम्बन्ध राखेको छ भन्ने कुराले महत्व पाउँदैन, तर नारीको कुमारीत्वलाई प्रमुख विषय बनाइन्छ।
नारीको कुमारीत्वलाई उसको इज्जत र प्रतिष्ठासँग जोड्नु गम्भीर अन्याय हो। पुरुषवादी समाजले नारीलाई “टिपेको फूल” को रूपमा चित्रित गर्छ, जसले उनीहरूको स्वतन्त्रतालाई सीमित गर्छ। यो सोचले बलात्कार जस्तो जघन्य अपराधलाई पनि नारीकै दोष ठहर्याउने परिपाटी बसाएको छ। बलात्कृत नारीको जीवनलाई अपमानित गरिन्छ, जबकि अपराधीलाई सजाय दिनुको सट्टा नारीकै अस्मितामाथि आक्षेप लगाइन्छ।
नारीले आफ्नो यौन स्वतन्त्रताको प्रयोग गर्न पाउनुपर्छ, तर समाजले यसलाई नैतिकताको आधारमा नियन्त्रण गर्छ। जब नारीले आफूलाई मन नपरेको कुरामा “नो” भन्छे, तब समाजले उसलाई गलत व्याख्या गर्छ। नारीको पहिरन, आचरण, र यौन स्वतन्त्रतामाथि समाजको नियन्त्रण रहने भए पनि पुरुषलाई यौन सम्बन्धमा पूर्ण स्वतन्त्रता दिइन्छ। समाजले नारीको कुमारीत्वलाई धर्म र संस्कृतिसँग जोडेर उसलाई मानसिक रूपमा प्रताडित गर्ने वातावरण सिर्जना गर्छ।
नारीले आफ्नो यौन इतिहासलाई लिएर पछुताउनु पर्ने अवस्था सिर्जना गर्नु समाजकै गलत संरचनाको परिणाम हो। नारीको व्यक्तित्व, क्षमता, र योग्यताभन्दा उसको कुमारीत्वलाई प्राथमिकता दिनु उसको अस्मितामाथिको अपमान हो। समाजले नारीलाई मात्र यौन नैतिकताको आधारमा परख्छ, जबकि पुरुषलाई स्वेच्छाचारी जीवनशैली अपनाउने छुट दिइन्छ।
नारीको कुमारीत्वलाई समाजले नियन्त्रण गर्ने चलनले उसको स्वतन्त्रतालाई सीमित गर्छ। मानसिक रूपमा कमजोर पार्छ, र आत्मसम्मानलाई ह्रास गराउँछ। यो सोचाइको अन्त्य गर्न आवश्यक छ। विवाह प्रेम, विश्वास, र समझदारीको सम्बन्ध हो, न कि कुमारीत्व परीक्षणको। समाजले नारीलाई यौन स्वायत्तता दिनुपर्छ, पुरुषसरह समानता प्रदान गर्नुपर्छ, अनि मात्र वास्तविक समानताको आधारशीला राख्न सकिन्छ।