घरको कोठा, बार्दली, भर्याङजस्ता ठाउँमा इन्डोर प्लान्ट सजाउन सकिन्छ । इन्डोर प्लान्ट अर्थात् घरभित्र रोप्न हुर्काउन सकिने यस्ता थुप्रै बुट्यान हुन्छन्, जसले घरलाई आकर्षक देखाउँछ । त्यसो त यी बुट्यानहरुले घरको शोभा मात्र बढाउँदैन, वायु शुद्धीकरणमा पनि उत्तिकै योगदान दिन्छ । यद्यपि त्यसका लागि कस्तो प्रजातिको बुट्यान राख्ने भन्ने कुरामा भने हेक्का राख्नुपर्छ ।
घरको कुन स्थानमा यी बिरुवा-बुट्याउनहरु सजाउने ? यसबारे पनि जानकारी हुनुपर्छ । अक्सर बेड रुममा सकेसम्म इन्डोर प्लान्ट नराखेकै उचित हुन्छ । यस्ता प्लान्ट भान्सा, बैठक कोठा, बार्दली, भर्याङजस्ता ठाउँहरुमा राख्न सकिन्छ । तर हिंड्न, बस्न असहज हुनेगरी भने यस्ता बोट बिरुवा सजाउनु उचित हुँदैन । घरभित्र यस्ता कतिपय खाली ठाउँ हुन्छन्, जहाँ इन्डोर प्लान्ट सजाउन सकिन्छ ।
कतिपय अवस्थामा यी बोट बिरुवा धराप बन्न सक्छ । जस्तो भर्याङ, बार्दली वा घरको कुनै भागमा झुन्ड्याएर सजाइएको बोट-बिरुवाले दुर्घटना पनि निम्त्याउन सक्छ । त्यसैले घरभित्र बोट बिरुवा रोप्दा यी कुरामा ख्याल गर्नुपर्छ ।
घरभित्र कस्तो बोट-बिरुवा रोप्ने ?
स्नेक प्लान्ट
इन्डोरको लागि यो एकदमै उपयोगी सदाबहार बुट्यान हो । घरको वायु शुद्धीकरणमा यसले सहयोग गर्छ । यो सातथरीका हुन्छन् । स्नेक प्लान्टलाई बेलाबखत लिक्विड फर्टिलाइजर र कम्पोस्ट मल लगाउनुपर्छ ।
बिरुवाको मूल्य : ३७५ देखि ३ हजार रुपैयाँसम्म ।
स्ट्रिङ अफ टियर्स
झट्ट हेर्दा आँशुको थोपाजस्तै टिलपिल देखिने यो लहरे प्लान्ट निकै आकर्षक हुन्छ । खासगरी यो ह्यांगिङ प्लान्टको रुपमा सजाउन सकिन्छ ।
बिरुवाको बजार मूल्य : ६५० देखि १ हजार ५०० रुपैयाँसम्म ।
मोन्स्टेरा
मोन्स्टेरा सदाबहार इन्डोर प्लान्ट हो । यो विभिन्न थरीको हुन्छ । मोन्स्टेरा ४ देखि ९ फिटसम्म अग्लो हुन्छ ।
बिरुवाको बजार मूल्य : २ हजार ५०० रुपैयाँसम्म ।
मुन क्याकटस
सिउँडी एवं क्याकटस प्रजातिको यो प्लान्टले झट्ट आगन्तुकको ध्यान तान्छ । यसको टुप्पोमा बोटभन्दा ठूलो गोलाकार फूल फूल्छ भने यो रातो, पहेंलो, गुलाबी रंगको हुन्छ । स-साना पटमा यसलाई सजाउन सकिन्छ ।
बिरुवाको बजार मूल्य : ५१५ देखि ७५० रुपैयाँसम्म ।
बोन्साई फाइकस
बोन्साई गरिएको यो प्लान्ट कोठाको स-साना ठाउँमा सजाउन सकिन्छ । फैलिएको हाँगा र जराले यो सानो स्वरुपको रुख आकर्षक देखिन्छ । यसको हाँगाबिगाभन्दा पनि जरामा डिजाइन निकाल्न सकिन्छ ।
बिरुवाको बजार मूल्य : २ हजार ५०० रुपैयाँ ।
लिथोप्स
लिथोप्स आइस प्लान्ट प्रजातिको इन्डोर बुट्याउन हो । यो स-साना पटमा सजाउन सकिन्छ । फूलभन्दा पनि यसको डाँठ वा पात बढी आकर्षक देखिन्छ ।
बिरुवाको बजार मूल्य : ६५० देखि १ हजार ५०० रुपैयाँसम्म ।
चामेडोरा
धेरै प्रचलित इन्डोर प्लान्टमध्येमा पर्छ, चामेडोरा । अलि अग्लो प्लान्ट राख्नुपर्ने छ भने यो प्लान्ट उपयोगी हुन्छ । निगालोझैं देखिने यो प्लान्ट इन्डोर र आउडोर दुवैमा राख्न सकिन्छ ।
बिरुवाको बजार मूल्य : ७५० देखि ३ हजार ५०० रुपैयाँसम्म ।
लक्की बेम्बो
स-साना टेबलमा सजाउनका लागि उचित हुन्छ, लक्की बेम्बो । यो प्लान्टलाई पानीमा राख्नुपर्छ । यसको पानी हप्ता दिनमा परिवर्तन गर्नुपर्छ ।
बिरुवाको बजार मूल्य : ६५० देखि ८७५ रुपैयाँसम्म ।