जिरेनियमलाई बहुरंगी फूल भनेर चिनिन्छ । यो फूल तराईमा बाह्रै महिना फुल्छ भने पहाडी क्षेत्रमा वर्षको ७-८ महिना फुल्छ ।
गर्मी ठाउँमा राम्ररी फस्टाउने जिरेनियम फूल घर, विद्यालय, होटल-रिसोर्ट, पार्क लगायतका स्थानमा सजाएको देखिन्छ । विभिन्न रंगमा फुल्ने भएकाले यसको आकर्षण धेरै रहेको छ । रैथाने जिरेनियमको भन्दा विदेशी प्रजातिको माग धेरै रहेको छ । फूल सुन्दरताको प्रतीक मात्र नभएर पूजा, विवाह, जन्म तथा मृत्यु संस्कारमा आवश्यक पर्ने भएकाले पनि यसको छुट्टै महत्व छ ।
यसैगरी अन्य फूलले जस्तै जिरेनियमले पनि वातावरणीय स्वच्छता कायम राख्न सहयोग पुर्याउँछ ।
जिरेनियम फूललाई कसरी हुर्काउने ?
यो फूललाई प्रशस्त घाम चाहिन्छ । घरमा राख्दा दक्षिण दिशामा राख्दा उपयुक्त हुन्छ । वर्षाको पानी सिधै फूलमा पार्नु हुँदैन । जरा बलियो र राम्रो फूल फुलाउनका लागि घाम पर्ने ठाउँमा नै यसको विरुवा रोप्नुपर्छ ।
यो फूल विभिन्न रंगमा उपलब्ध हुन्छ । नर्सरीमा २५ भन्दा बढी रंगमा जिरेनियम पाइन्छन् । यसको धेरैजसो स्थानीय प्रजाति लोप भइसकेका छन् ।
कति पर्छ मूल्य ?
जिरेनियमको पुरानो प्रजातिको बिरुवालाई १०० रुपैयाँ पर्छ । नयाँ प्रजातिका बिरुवाको मूल्य भने ५०० रुपैयाँसम्म पर्छ । घर हुनेले मात्रै नभई भाडामा बस्नेहरुले पनि फूल सजाउने क्रम बढेकाले यसको मूल्य बढिरहेको छ ।
मल र पानी कसरी हाल्ने ?
यो फूललाई राम्रोसँग हुर्काउन २० देखि २५ दिनको फरकमा मल हाल्नुपर्छ । निरन्त फुलाउनका लागि अग्र्यानिकका साथै रासायनिक मल पनि प्रयोग गर्न सकिन्छ । तर जिरेनियमका लागि अग्र्यानिक मल नै बढी लाभदायक हुन्छ ।
यसैगरी घाम लागेको समयमा पानी हाल्न हुँदैन । त्यसका लागि बिहान र बेलुकाको समय उपयुक्त हुन्छ । दिउँसोको घाममा पानी हाल्दा तातो र चिसोको मिश्रणले फूलको जरा कुहिने सम्भावना हुन्छ ।
कीराबाट बचाउने उपाय
जिरेनियम फूलको आयु दुईदेखि तीन वर्ष हुन्छ । यसलाई सुरक्षित तरिकाले राख्न सक्ने ६ वर्षसम्म पनि जोगाउन सकिन्छ ।
जरा गुलियो हुने हुनाले यो फूलमा खुम्ले कीरा, झुसिल कीरा धेरै लाग्ने हुन्छ । निमको तेल तथा रोगरलगायत औषधिले त्यस्ता कीराको आक्रमणबाट जोगाउन सकिन्छ । यसैगरी कीराबाट फूलको बिरुवालाई जोगाउन माटो स्वस्थ राख्नुपर्ने सुवेदी सुझाउँछन् ।