चिना हेरेर भविष्य कसरी थाहा हुन्छ ?

चिनाको अर्थ व्यक्तिलाई चिनाउनु भन्ने हुन्छ । मानिस जन्मेको आधारमा खगोलीय नक्षत्र, राशि एवं ग्रहहरूको स्थिति पत्ता लगाई त्यसैको आधारमा तयार पारिएको राशिचक्रलाई आधार मानी बाह्र राशि र सूर्य नवग्रहहरूको उदय-अस्त, उच्च-नीच, डिग्री, देश, कालसहितको अनुकूल प्रतिकूल के कस्तो ग्रहगोचरीय अवस्था लिएर व्यक्तिले जन्म लिएको छ भन्ने कुराको यथार्थ एवं गणित सिद्ध ज्ञान गराउने वस्तु भनेकै कुण्डली वा चिना हो ।

चिना तयार गर्दा विभिन्न कुरामा ध्यान दिनुपर्छ । विशेषगरी जन्मेको समय, मिति र स्थान एकदमै सही हुनुपर्छ । जन्मेको समय र मिति बिग्रिएको खण्डमा चिनाले भविष्य बताउन सक्दैन ।

कसरी तयार गरिन्छ ?

कुनै व्यक्तिको चिना बनाउँदा ऊ जन्मिंदाको ग्रह नक्षत्र सबै हेरेर हिसाब गरेर बनाइन्छ । पञ्चाङ्गमा भएको तिथि, बार, नक्षेत्र, गण सबै कुरा समावेश गरेर चिना बनाइन्छ ।

हामी जुन बेलामा जन्मियौं, त्यतिबेला आकाशमा ग्रह घुमिरहेका हुन्छन् । कुन ग्रह कहाँ घुमिरहेको हुन्छ, अर्को हामी कहाँ पञ्चाङ्गको पात्रो हुन्छ, त्यसमा पनि ग्रह राखिएको हुन्छ । त्यसमा ग्रहहरू कति डिग्रीमा छन् भनेर लेखिएको हुन्छ । मान्छे जन्मिसकेपछि पात्रो पल्टाएर इष्टघडी निकाल्छौं । इष्टघडी भनेको मान्छे जन्मिएको समय र सूर्यबीचको अन्तर हो । इष्टघडीले कति नक्षत्र, कति तिथि भेट्यो भनेर निकाल्छ ।

हिन्दू संस्कार अनुसार जन्मेको ६ दिनमा चिनाको टिप्पणी तयार गरिन्छ । बच्चा जन्मेको पाँच वर्षपछि चिना बनाएर राख्ने चलन बढी छ ।

चिना हेरेर भविष्य कसरी थाहा हुन्छ ?

कुनै पनि व्यक्तिको कुण्डलीका आधारमा उसको भविष्य बत्ताउन सकिन्छ । कुण्डलीमा रहेको पहिलो भावबाट उसको स्वास्थ्य र स्वभाव हेर्न सकिन्छ भने दोस्रो तथा अन्य भावबाट धन सम्पत्ति, बचत, पराक्रम तथा दाजुभाइ दिदीबहिनी, साथीभाइ तथा पारिवारिक सम्बन्ध, बाहन तथा घरसम्बन्धी, अध्ययन, विषयगत रुचि, सन्तान योग, शत्रु सम्बन्ध, आयु तथा जीवनमा हुन सक्ने दुर्घटना, भाग्योदय, धर्म तथा संस्कारप्रतिको रुचि, पेसा तथा पिता पुत्र सम्बन्ध, स्थानान्तरण तथा आम्दानीका स्रोत तथा उसको खर्च सम्बन्धी विवरण लगायत कुरा पत्ता लगाउन सकिन्छ ।

कुन ग्रह मैत्री भावमा छ कुन ग्रह शत्रु भावमा छ त्यो आधारमा भविष्य निर्माण हुन्छ । राम्ररी बनाइएको चिना छ, ज्योतिषशास्त्र अध्ययन गरेको व्यक्तिले हेरेको खण्डमा राम्ररी भविष्यवाणी गर्न सक्छन् र त्यो भविष्यवाणी मिल्छ पनि ।

चिना बनाउँदा जन्मेको दिन, देश र कालसहित खगोलीय एवं भूगोलीय अवस्थिति मिलेको हुनुपर्छ । अनुमानको आधारमा चिना बनाउन मिल्दैन । थोरै मात्र गडबडी भयो भने पनि चिना नमिल्न सक्छ । र, त्यो चिनाको आधारमा गरेको भविष्यवाणी पनि नमिल्न सक्छ । समय मात्र थाहा छ जन्मेको स्थान थाहा छैन वा स्थान थाहा छ, तर समय थाहा छैन भने पनि चिना बन्दैन । जन्मेको समय र जन्मस्थान सही छ भने त्यसअनुसार बनाइएको चिनाको आधारमा गरिएको भविष्यवाणी भने मिल्छ ।

चिना भएन भने के हुन्छ ?

चिना नभएर कुनै समस्या हुँदैन । तर चिना भयो भने कुन बेला कुन ग्रहको स्थिति के छ ? ग्रहको नकारात्मक असर पर्नेछ भने चिना हेरेर ग्रहको शान्ति गर्न सकिन्छ र नराम्रो असरलाई कम गर्न सकिन्छ ।

नेपाल, भारतबाहेक अन्य देशमा पनि चिना बनाउने चलन छ ?

चिना बनाउने र चिनाको आधारमा भविष्यवाणी गर्ने काम नेपाल, भारतजस्ता हिन्दू धर्म अवलम्बन गरेको देशमा मात्र हुन्छ भन्ने पनि धेरैलाई लाग्न सक्छ । बंगलादेश, मालदिभ्स लगायतका देशमा पनि चिना बनाउने र त्यसको आधारमा भविष्यवाणी गर्ने प्रचलन छ ।

Post Comment