स्पर्शले मानिसको मानसिक र भावनात्मक स्वास्थ्यमा महत्वपूर्ण भूमिका खेल्छ । जब हामी कसैलाई अंकमाल गर्छौं, हात समाउँछौं वा सुमसुम्याउँछौं, त्यसले हाम्रो मस्तिष्कमा सकारात्मक प्रभाव पार्छ । यसले न्यानोपन, आत्मीयता र आत्मविश्वास बढाउने मात्र होइन, समग्र स्वास्थ्य सुधार गर्न समेत मद्दत गर्छ ।
शरीरको स्पर्शसँग केवल आराम र स्वास्थ्य मात्र जोडिएको छैन, यसले रोमाञ्चकता र आत्मीय सम्बन्ध पनि मजबुत बनाउँछ । जब कसैलाई प्रेमपूर्वक छोइन्छ वा सुमसुम्याइन्छ, शरीरमा सकारात्मक ऊर्जा पैदा हुन्छ, जसले मानसिक सन्तुलनमा समेत योगदान दिन्छ ।
वासिङ्टन विश्वविद्यालयको स्कुल अफ मेडिसिनका अनुसन्धानकर्ताहरूले छालाको संवेदनशीलता र स्पर्श सम्बन्धी महत्वपूर्ण तथ्य पत्ता लगाएका छन् । अध्ययनका अनुसार, छालाबाट मस्तिष्कमा सुखद् संवेदना पुर्याउने विशेष तन्त्रिका सर्किटहरू क्रियाशील हुन्छन्, जसले स्पर्शलाई अनुभूत गर्न मद्दत गर्छन् ।
यसबाहेक, अनुसन्धानकर्ताहरूले न्युरोपैप्टाइड नामक विशेष जैविक तत्त्व पहिचान गरेका छन्, जुन शरीरका कोषहरूमा स्पर्शसम्बन्धी संकेतहरू आदानप्रदान गर्छ । यी संकेतहरूले मस्तिष्कमा सुखद अनुभूति पुर्याउने भूमिका खेल्छन् ।
अनुसन्धानका प्रमुख वैज्ञानिक डा. झोउफेङ चेनका अनुसार, सबै स्तनधारी प्रजातिहरूमा सुखद् स्पर्शको आवश्यकता हुन्छ । स्पर्श केवल प्रेम आदानप्रदान गर्ने माध्यम मात्र होइन, यसले पीडा कम गर्न र मानिसलाई तनावमुक्त बनाउन समेत मद्दत गर्छ ।
बालबालिकाको पालनपोषणमा समेत स्पर्शको गहिरो महत्व छ । जन्मपछि बच्चाहरूलाई आमा वा बाबुले अंकमाल गर्दा वा सुमसुम्याउँदा उनीहरूको मानसिक र शारीरिक विकासमा सकारात्मक प्रभाव पर्छ । त्यस्तै, मृत्यु भएका व्यक्तिको हात समाउँदा आत्मीयताको अनुभूति हुन्छ, जसले मनोवैज्ञानिक रूपमा राहत दिन सक्छ ।
जनावरहरूले पनि एकअर्काको स्याहारसुसार गर्न स्पर्शको उपयोग गर्छन् । मानिसहरूबीच भावना साटासाट गर्ने महत्वपूर्ण तरिका भनेको अंकमाल गर्नु, हात मिलाउनु वा प्रेमपूर्वक छुने कार्य हो । मसाज वा थेरापी जस्ता उपचारहरूमा समेत स्पर्शको भूमिका हुने भएकाले, यसले शारीरिक तथा मानसिक रूपमा अस्वस्थ व्यक्तिहरूलाई फाइदा पुर्याउँछ ।
डा. चेनले प्रोकिनेक्टिन–२ नामक न्युरोपैप्टाइड नभएका मुसामा अध्ययन गरेका थिए । ती मुसाले सुखद् स्पर्शको अनुभव गर्न सकेनन्, जसका कारण उनीहरूमा गम्भीर तनाव देखियो । अनुसन्धानले जन्मजात रूपमा सुखद् स्पर्शको अभाव हुने जनावरहरूमा तनाव, चिडचिडाहट र असहजता बढ्ने देखाएको छ ।
बालबालिकाको समग्र वृद्धि विकासमा स्पर्शको विशेष भूमिका हुन्छ । स्पर्शले आत्मीयताको अनुभूति गराउनुका साथै प्रेम, माया र भावनालाई सुदृढ बनाउँछ । जनावरहरूले आफ्नो बच्चाहरूलाई चाटेर सुरक्षित र सहज महसुस गराउँछन्, ठीक त्यसैगरी, मानिसका बालबालिकाले पनि अभिभावकको स्पर्शबाट सुरक्षा, आत्मीयता र सन्तुष्टि प्राप्त गर्छन् ।
डा. सुदर्शन बस्नेतका अनुसार, आमाको स्पर्श बच्चाहरूको लागि अत्यन्त महत्वपूर्ण छ । ‘आमाको स्पर्शले बालबालिकालाई न केवल स्वस्थ र खुसी बनाउँछ, यसले उनीहरूको मानसिक विकासमा पनि महत्वपूर्ण योगदान दिन्छ,’ उनी भन्छन् ।
स्वास्थ्य विशेषज्ञहरूका अनुसार, आमाको स्पर्शलाई ‘फर्स्ट लाइन ट्रीटमेन्ट’ मानिन्छ, जसले बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ । बच्चालाई सुमसुम्याउँदा, अंकमाल गर्दा वा माया गरिरहेको महसुस गराउँदा शरीरमा सकारात्मक हर्मोनहरू सक्रिय हुन्छन्, जसले उनीहरूलाई सुरक्षित, खुसी र तनावमुक्त बनाउँछ ।
समग्रमा, स्पर्श केवल शारीरिक संवेदना मात्र होइन, यसले आत्मीय सम्बन्ध मजबुत पार्छ, माया र सुरक्षा प्रदान गर्छ, तनाव कम गर्छ, तथा बालबालिकाको विकासमा महत्त्वपूर्ण भूमिका खेल्छ ।